नेपाली सिनेमा : बजारकै खडेरी हो त !


चलचित्रलाई मनोरञ्जन, शिक्षा र कलाको प्रवाह भनेर मानिन्छ । आजको तीव्र व्यावसायिक युगमा चलचित्र पनि एक व्यावसायिक उत्पादन हो । व्यावसायिक उत्पादन भएकाले यसलाई बजारसँग जोड्न जरुरी हुन्छ । नेपालमा चलचित्र निर्माणको इतिहासले आधा शताब्दीभन्दा बढीको समय व्यतीत गरिसकेको छ । प्रत्येक वर्ष नेपालमा करिब सय चलचित्रहरू निर्माण र प्रदर्शन गरिन्छन् । बेलाबेलामा बहस उठ्छ के सयौँ चलचित्रको लागि नेपालको बजार पर्याप्त छ ?

यात्रागत दूरीका हिसाबले नेपालको चलचत्रिले केही आरोह अवरोह तय गरेको इतिहास छ । विगतमा नेपाली चलचित्रको समय हेर्ने हो भने केही समय यसले स्वर्ण समय पनि प्राप्त गरेको देखिन्छ । सिन्दुर, भाग्यरेखा, सपना, साइनो, कुसुमेरुमाल, सन्तान, माइतीघरजस्ता धेरै चलचित्र सफल भएका थिए । यी चलचित्रले व्यावसायिक रूपमा मात्र सफलता प्राप्त गरेको नभई सामाजिक चेतनाका लागि पनि पहल गरेका थिए । नेपाली चलचित्रले सिलसिलेवर रूपमा एक सय दिन र ५१ दिनको स्वर्णिम समय पनि गुजार्दै आएको थियो । पछिल्लो समयमा आएर सफलताको त्यो सिलसिला छुटेको छ । नेपाली चलचित्र क्षेत्रमा संकटकालको घोषणा गरिनुपर्दछ भन्नेसम्मका आवाजहरू पनि उठ्दैआएका छन् । चलचित्र क्षेत्र ग्ल्यामरको क्षेत्र मात्र नभई यसलाई प्रभावकारीरूपमा उपयोग गर्नसके यसले समाजका कपिय जटिल विषयलाई आम मानिसमा सहजरूपमा सञ्चारित गर्ने सामर्थ्य राख्दछ ।

नेपाली चलचित्रको परम्परागत बजार वा आफ्नै बजार भनेको नेपाल सरहद नै हो । तर विश्वव्यापी चलचित्र क्षेत्रको पछिल्लो ट्रेन्ड हेर्ने हो भने बजार अब तेरो मेरो भने बहसबाट बाहिर पुगिसकेको छ । जस्तै हलिउडका कतिपय चलचित्रहरूले भारतीय बजारबाटै सयौँ करोड रूपैयाँ लगेका छन् भने ‘बलिउड चलचित्रले पनि चिनिया बजारबाट सयौँ करोड रूपैयाँ लगेका छन् । आज चलचित्रको व्यापार त्यसको भाषाभन्दा माथि पुगिसकेको छ ।

तपाईंले राम्रो चिज उत्पादन गर्नसक्नुभयो भने विश्व बजार नै तपाईंको बजार हो, गुणस्तरीय चीज बनाउनु भएन भने तपाईंको आफ्नै बजारले पनि तपाईंलाई स्वीकार गर्दैनन् । नेपाल चलचित्रका सरोकारवालाहरू बारम्बार भन्दछन् हाम्रो बजार सानो भयो हाम्रो लगानी उठ्दैन तर वहाँहरू यो कुरा स्वीकार गर्न भुल्नुहुन्छ कि सुल्तान, दंगल, एक था टाइगरजस्ता भारतीय चलचित्रले यही बजारबाट १५–१७ करोड उठाएर गए ।

भारतीय चलचित्रको मात्र कुरा होइन् केही नेपाली चलचित्रले पनि यही पछिल्लो समयमा ८–१० करोडदेखि १८–२० करोड ग्रस कमाएको बताएका छन् । जस्तै ए मेरो हजुर–३, जात्रैजात्रा, छक्का पञ्जा ३, दाल, भात तरकारी आदि । यी चलचित्रको व्यापार उत्साहजनक भएको निर्माता, निर्देशक र वितरकहरू बताउँछन् । त्यसैले बजारको कमीको कारण भन्ने तर्क असान्दर्भिक हो । यो सत्य हो कि पछिल्लो समय बनेका कतिपय नेपाली चलचित्रले लगानी सुरक्षित गर्न सकिरहेको छैन । यो निश्चय नै एउटा दुःखद पक्ष हो तर यसका लागि बजारतर्फ औँला उठाएर मात्र पुग्दैन । बजारतर्फ आक्षेप लगाउनुपूर्व एक पटक नेपाली चलचित्रको निर्माण र प्रदर्शन प्रक्रिया पनि मनन् गर्न जरुरी भइसकेको छ । किन बजारको गति चलचित्रले पक्रन सकेको छैन वा दर्शकले किन नेपाली चलचित्रसँग आफूलाई जोड्न खोज्दैन ? यसतर्फ पनि विमर्श गर्न जरुरी भएको हो ।

पछिल्लो समय नेपाली चलचित्रको संख्यात्मक वृद्धि निकै बढेर गएको छ तर जुन रफ्तारमा चलचित्रको निर्माण भइरहेको छ उस्तै गतिमा चलचित्रहरू असफल पनि बन्दैगएका छन् । कतिपय चलचित्रले त लगानीको दश प्रतिशत रकम पनि उठाउन सकेको छैन किन त रु नेपाली चलचित्रले बदलिँदो समयको मागलाई पहिचान नै गर्ननसकेको हो कि अथवा अब चलचित्र निर्माण र प्रदर्शनमा विविधता ल्याउनुपर्ने हो कि रु नेपाली चलचित्रहरू खास गरेर दुविधाबाट ग्रसित बन्दैगएको देखिन्छ । पछिल्लो समय निर्माण गरिएका कतिपय चलचित्रहरू ‘कन्टेन्ट कन्फ्युजनको शिकार बन्दै गएका छन् ।

विश्व बजारमा जहाँ ‘कन्टेन्ट इज किंग’ भन्ने अवधारणा विकास हुँदै आएको छ । त्यही हाम्रा चलचित्रहरू दुविधामा छन् । यसले गर्दा उनीहरू बजारमा माथ खान्छन् । कन्टेन्टलाई लिएर पछिल्लो समय भनिन थालेको छ अबको समयमा स्टार चल्दैनन् कन्टेन्टले चलचित्र चलाउँछन् । यो कथनमा सत्यता पनि छ जस्तै बलिउडमा सन् २०१८ मा सफल भएका कतिपय चलचित्र बलियो कन्टेन्ट भएर चले भने सुपरस्टार भनिने नामहरूको चलचित्रले बक्स अफिसमा हावा खाए । जहाँ बधाइ हो, राजी, स्त्री, अन्धा धुनजस्ता चलचित्र सफल हुँदा विग स्टारले खेलेका रेस ३, ठग्स अफ हिन्दुस्तान र जिरो बोल्ड आउट भए ।

नेपाली चलचित्र उद्योगमा अहिले पनि स्टार हिट भन्ने गलत धारणा विकसित छ । बजारले बारम्बार स्टारलाई पनि आउट गर्दैआएको छ तर निर्माता निर्देशकको ध्यान अझै ठूला स्टार केन्द्रित छ । नेपाली चलचित्र उद्योगका अहिलेको सन्दर्भमा बक्स अफिसलाई जोडेर हेर्दो एउटा पनि नायक वा नायिकालाई स्टार भ्यालु भन्नु असान्दर्भिक हुन्छ ।

त्यसैले, नेपाली चलचत्रिले बजारको लय पक्रने हो भने कन्टेन्ट क्लियरेन्स हुन नितान्त जरुरी भइसकेको छ । त्यस्तै गरेर नायक वा नायिकामा धेरै भरोसा राख्ने वा थुपार्ने भन्दा चलचित्र निर्माणका अरु भागमा पनि ध्यान केन्द्रित गर्नुपर्छ । स्टारले फिल्म चल्ने समय पनि थियो । कुनै बेला तर अहिले त्यो अवस्था रहेन ।

चलचित्रको बजार स्वत तयार हुने कुरा होइन यसका लागि निकै मेहेनत र परिश्रम जरुरी पर्दछ । एउटा उदाहरण हेर्नोस कर्नाटकमा बनेको कन्नाड सिनेमा केजी एफ काठमाडौँको हलमा ५० दिनसम्म चलेको थियो । अब सम्भवत राम्रा कन्नाड भाषाका चलचित्र हिन्दीमा डब भएर नेपाल भित्रिने छन् । चलचित्रलाई बजारसँग जोड्न चलचित्रको गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्दछ ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रको बजार विस्तार भन्नेवित्तिकै एनआरएनसम्म मात्र भन्ने देखिन्छ । यो पुरै भ्रमित अवधारणा हो । अहिलेको अवस्थामा एनआरएनसम्म चलचित्र पु(याएर केही पैसा त कमाउन सकिएला तर यसले दीर्घकालमा सिनेमाको बजार निर्माण हुँदैन बरु चलचित्र क्षेत्र झन् साँघुरिँदै जाने निश्चित प्रायः छ । पछिल्ला केही रिपोर्टले यो संकेत पनि गरिसकेका छन् कि पहिलेजस्ता एनआर एनसम्म नेपाली चलचित्रको चार्म छैन ।

नेपाली भाषी रहेका विश्वका सबै ठाउँमा नेपाली चलचित्र पु(याइनुपर्दछ । नेपाली भाषीको बाहुल्य रहेका बर्मा, भुटान, अष्ट्रेलिया, जापानजस्ता देशहरूमा नेपाली चलचित्रले बजार खोज्नुपर्दछ । यसका लागि चलचित्रलाई गुणस्तरसँग पनि जोड्न जरुरी छ । नेपाली चलचित्रले नेपालीपन बोकेर मात्र यो यात्रामा सफलता पाउन सक्दछ । यसका लागि पहिलो आत्मविश्वास त स्वयं चलचित्रकर्मीमा आउनुप-यो जबसम्म उनीहरू नै के बनाउने र कस्तो बनाउने भन्ने कन्फ्युजनमा हुन्छन् तबसम्म पूरै क्षेत्र अलमलमा नै परिरहने छ ।

मुर्गा प्रवृतिमा ज्यादा जोड, मौलिक कथाको कमी, व्यवसायिक शून्यता, मेहेनतभन्दा चर्चा मात्रको ज्यादा लोभ, फिल्म प्रदर्शनमा अपारदर्शिता, बक्स अफिस पद्धतिको अभाव, दर्शक र फिल्मकर्मीबीच सघन संवादको कमी, सरोकारवालाबीचको बढ्दो तिक्ततता, अहिले नेपाली चलचित्र क्षेत्रले झेलेका समसामयिक समस्याहरू हुन् जबसम्म यी समस्याहरू निधानका लागि ठोस पहल गरिँदैन तबसम्म नेपाली चलचित्रले नयाँ बजार सिर्जना गर्नसक्दैन । नेपाली चलचित्र सुरुवातदेखि नै बलिउडको छत्रछाँयाबाट निर्देशित भएर अगाडि बढ्दैआएको छ ।

यो ट्रेण्डले नेपाली चलचित्र अगाडि बढ्न त मदत पुगेकै हो तर यही मोडलमा नेपाली चलचत्रिले बजार विस्तार गर्न भने अप्ठ्यारो र करिबकरिब असम्भव नै देखिन्छ किनभने बलिउडसँग प्रतिस्पर्धा गर्नका लागि न नेपाली क्षेत्रसँग त्यहाँको जस्तो बजेट छ, न प्रविधि छ न त्यस्तो चलचित्र हेर्ने संस्कृति छ । भारतमा चलचित्र संस्कृति निकै सभ्य र अन्य तहमा पुगिसकेको छ । सप्ताहअन्तमा चलचित्र हलमा नै पुगेर हेर्ने, उनीहरूको संस्कृति बनिसकेको छ । नेपालमा पनि चलचित्र हेर्ने पढ्ने संस्कृतिमा वृद्धि हुँदै गएको भए पनि त्यो संस्कृतिलाई नेपाली चलचित्रले जोड्न अझै सकिएको छैन ।

नेपाली चलचित्रले गुणस्तरमा र मौलिकतामा ध्यान केन्द्रित गरेर अगाडि बढ्दा बजारको कमी हुने कुनै सम्भावना छैन । तर आफ्ना कमजोरीमा यथेष्ट गृहकार्य र बिनातयारी यसरी नै चलचित्र उत्पादन गर्दैगए चलचित्रको दीर्घायु संकटमा पर्ने निश्चित छ । चलचित्र निर्माणमा व्यावसायिक संस्कृतिको विकास गर्नैपर्दछ । जबसम्म हाम्रो सोच फराकिलो बन्दैन तबसम्म सिनेमाको बजार पनि बन्दैन । त्यसैले सिनेमाको बजारलाई बढाउन नेपालीपनमा जोड, व्यावसायिक एकता, प्रोफेसनालिजममा बढावा, चलचित्र विविधतामा बढावा अनिवार्य सर्त हुन् । यसतर्फ ध्यान केन्द्रित गरे नेपाली चलचित्रको बजार पक्कै पनि बढ्दै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *