नेपालमा सुनको कथा : माग कम तस्करी धेरै


दिपक शर्मा

 

सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ ।सुन अर्थात्, संसारमा जहाँ पनि र जो–कोहीलाई आकर्षित गर्ने वस्तु । संसारभर सुन्दर वा सम्भावनापूर्ण भनेर बुझाउन सुनौलो, स्वर्णिम, गोल्डेन आदि अनेक विम्ब प्रयोग गरिन्छ- स्वर्णिम युग, सुनौलो दिन, सुनौला अक्षर !सुनको वारेमा थाहा नपाउने मान्छे संसारमा सायद नहोला, किनभने आजभन्दा ४० हजार वर्ष पहिले देखि यसको प्रयोगविभिन्न रुपमा हुँदै आएको देखिन्छ । यो एउटा धातु हो तर अन्य धातुहरु जस्तै खानीहरुमा सजिलै प्राप्त गर्न सकिदैन, यो अरु धातु जस्तै चांदी, तामासंग पनि मिसियर रहेको हुन्छ र यसको उत्खनन् गर्न धेरै समय र पैसा लाग्छ । यो आफै हल्का रातो र पहेंलो देखिने हुँदा मानव सभ्यताको विकाससंगै यसको प्रयोग आफ्नो सम्पन्नता प्रदर्शन गर्न भएको देखिन्छ ।खोजी गरिएको इतिहासलाई हेर्ने हो भने नाईल नदीमा विकास भएको इजिप्टको सभ्यतामा भएको मानिन्छ । त्यतिवेला देखि अहिलेसम्म एउटा महत्वपूर्ण धातुको रुपमा संसारभर यसको उपयोग भई रहेको छ ।

हेर्दैमा आकर्षक धातु सुनको सांस्कृतिक महत्व पनि ठूलो छ । हिन्दू संस्कारमा सुन बेगर बिहेबारीलगायतका सांस्कृतिक कार्य अघि बढाउन असम्भवप्रायः छ। बिहेबारीमा सुनको स्थान गैर–हिन्दू समाजमा समेत उस्तै छ । नारी सौन्दर्य प्रसाधनको रूपमा सुन प्रयोग हुने दक्षिण एशिया, दक्षिण पूर्वी तथा पूर्वी एशियामा यो पहेंलो धातुको खपत धेरै हुन्छ। बढ्दो उपभोग संस्कृति र बजारको दबदबाले सुनको खपत अझ् बढाएको छ ।

सुन तस्करी हाम्रा लागि नयां र नौलो विषय होइन । यो निकै अघिदेखि हुंदै आएको हो । पञ्चायती शासनकालमा सत्तासीनहरुकै संरक्षण र संलग्नतामा सुन तस्करी हुने गरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात पनि थुप्रै नेता र सरकारी अधिकारीहरु सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुन काण्ड’हरु चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने काम भएन बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरु नै संलग्न हुन थाले ।नेपालमा सुन तस्करीको पछिल्लो तथ्यांकले नेपालको सुरक्षा अवस्थालाई केही प्रष्टाउन मद्दत गर्दछ । वास्तवमा नेपालमा यति धेरै सुन किन भित्रन्छ भन्ने प्रश्न नै नौलो हो ? नेपाली समाजमा सुनप्रति केही आकर्षण रहेको भए पनि यो हदको तस्करी अस्वभाविक छ ।
यसले प्रष्ट रुपमा नेपाल सुन कारोवारीका लागि ट्रान्जिटका रुपमा विकसित भइरहेको बुभ्mन सकिन्छ ।
सुन तस्करीमा एकै समूहले क्विन्टल सुन तस्करी गरेको समाचारले नेपालमा सुन तस्करीको स्थिति प्रष्ट पार्दछ । नेपालमा त्रिभुवन विमानस्थल मार्पmत र चिनियाँ नाका हुँदै वार्षिक ९० देखि ९५ टनसम्म सुन तस्करी हुन सक्ने आँकलन गरिएको छ ।
नेपालमा विवाह सिजनमा दैनिक ४० देखि ४५ किलो सुन खपत हुने गरेकोमा औपचारिक माध्यमबाट केवल २० किलो मात्र आएको हुन्छ । बाँकी सुनको बजार तस्करीले नै धानेको मानिन्छ । खुला रुपमा भइरहेको यो अपराधको खास अपराधी कहिल्यै फेला परेका छैन । नेपालका लागि जुन तहको सुना पक्राउ गरिएको छ । त्यो आवश्यकता भन्दा अत्यधिक बढी मानिन्छ ।नेपाली समाज सुनप्रति त्यति लालायित नै छैन । सुन तस्करीका लागि नेपालका सबैजसो नाका सक्रिया बनाइएको देखिन्छ । नेपालमा सुन तस्करीको चर्चा समय समयमा मात्रै चल्दै आउँछ ।
अमेरिकाको न्यूयोर्कस्थित फेडरल रिजर्भ ब्यांकका अनुसार, ’शताब्दीयौंदेखि इतिहासमा सुनको गहिरो प्रभाव रहिआएको छ । दुनियाँभर नै धनको सर्वमान्य प्रतीकका रूपमा यसलाई स्वीकार गरिएको छ। जब मानिसहरू राजनीतिक अस्थिरता, युद्ध वा मुद्रास्फीतिबारे चिन्तित हुन्छन्, आफ्नो बचत सुनमा लगाउँछन् ।’

हुन पनि, संसारभर व्यापार विनिमयका रूपमा सर्वमान्य रूपमा स्वीकार गरिएको पहिलो वस्तु सुन नै हो । करीब ६ हजार वर्षअघि उत्खनन् र संग्रह गर्न थालिएको सुनको पहिलो सिक्का इसापूर्व ५५० मा निकालिएको थियो । सुन सम्बन्धी इतिहासकार टिमोथी ग्रिनका अनुसार, लिडिया (हाल टर्कीको एउटा प्रान्त) का राजा क्रोएससले त्यो सिक्का बनाएका थिए, जुन तत्कालै भूमध्य सागर क्षेत्रमा व्यापारिक भुक्तानीको सर्वस्वीकार्य साधन बन्न पुग्यो। त्यहीबेलादेखि सुनलाई सबैतिर मान्य धनका रूपमा स्वीकार्न थालियो ।

 

 

आफूले कमाएको सम्पत्ति सुनको रूपमा राख्ने, सञ्चय गर्ने क्रम अहिले संसारभर बढेको छ। यसको मूल कारण सुन सबभन्दा सुरक्षित हुनु हो। खँदिलो धातु सुनलाई सञ्चय गरी राख्न सबभन्दा सजिलो छ। नगदले जस्तो यसले धेरै ठाउँ पनि ओगट्दैन। नेपाल राष्ट्र ब्यांकका एक अधिकारीका अनुसार कारोबारका लागि तत्काल नगदमा बदल्न र सञ्चय गरेर क्यापिटल गेन’ गर्न सकिने हुँदा जो–कोहीले सुन किनेर राख्न खोज्ने बताउँछन्। त्यही कारण गरीबमा समेत सुन राख्ने इच्छा हुन्छ । पछिल्लो समय सुन तस्करी संगठित अपराधकै रूपमा फैलिंदैछ। त्यसलाई बढाउने काम गरेको छ, भारतीय बजारमा बढ्दो सुनको मागले। भारतको तुलनामा नेपाल सुनको निकै सानो बजार हो। भारतमा सुनको धार्मिक–सांस्कृतिक महत्व, मध्यम वर्गको धन सञ्चय गर्ने रुचि र कालो धन लुकाउने उपायका रूपमा अचाक्ली बढेको सुनको मागले नेपाललाई सुन तस्करीको थलो बनाउँदैछ। भनिन्छ,संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँदा त्यो विश्वमा भएको सुनको ११ प्रतिशत हुन्छ । अर्थशास्त्री र व्यापारीहरुका अनुसार नेपाल र भारतको ’ट्याक्स डिफरेन्सियल’ र ’सेक्युरिटी लुपहोल’ मा भर पर्ने कुरा हो, नेपाल भएर भारतमा हुने सुन तस्करी।

कुनै बेला सिन्धुपाल्चोकको तातोपानी नाकालाई चीनबाट सुन तस्करी गर्ने नामूद नाका मानिन्थ्यो। १२ वैशाख २०७२ को भूकम्पपछि सो नाका बन्द रहेकाले सुन तस्करहरूले केरुङ–रसुवागढी नाका प्रयोग गरिरहेका छन्। प्रहरी अधिकारीहरू नै रसुवागढी नाकाबाट दैनिक ५०–६० केजीसम्म तस्करीको सुन भित्रिइरहेको बताउँछन्। यो नाकाबाट सामान भित्र्याउने कन्टेनर व्यवसायी र सुन तस्करबीच बलियो साँठगाँठ रहेको उनीहरूको भनाइ छ।सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक–पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेको अधिकारीहरु बताउँछन्।खासगरी दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको उनीहरुको भनाइ छ।
अधिकारीहरुका अनुसार प्रहरी अनुसन्धानले नेपालबाट हुने अधिकांश सुन तस्करीमा भारतीयको लगानी रहने र सीमित मात्रामा नेपाली पनि संलग्न रहेको देखाउँछ।
भ्रष्टाचार र अवैध व्यापारबाट आर्जित धन सञ्चय गर्ने औजार पनि बनेको छ, सुन । वित्तीय प्रणालीमा आउने पैसाको स्रोत खुलाउनुपर्ने हुँदा धेरैले त्यसलाई सुन र घरजग्गामा लगाउँछन् । नेपाल सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सुन, चाँदी जस्ता बहुमूल्य धातुको बाहुल्य देखिनु, पूर्व पाँच जना मन्त्रीसँग मात्र दुई केजी सुन र तीन जना मन्त्रीसँग ७० केजी चाँदी रहेको विवरण सार्वजनिक हुनुले पनि यो प्रवृत्ति देखाउँछ ।

 


“गैरकानूनी तरिकाबाट कमाएको सम्पत्ति सञ्चय गर्न पनि सुनको प्रयोग हुन्छ” एक अर्थशास्त्री भन्छन्, “सुनको खपत बढ्नुको एउटा कारण यो पनि हो ।” यसबाट अनौपचारिक अर्थतन्त्र विस्तारमै सघाउ पुगिरहेको ठान्ने उनी नेपालीले खाडीमा कमाएको पैसा सुन तस्करीमा प्रयोग हुँदा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बताउँछन् ।

राष्ट्र ब्यांक अधिकारीहरूका अनुसार, विदेशबाट फर्कनेहरूले काँचो सुन ल्याउन थालेपछि रेमिटेन्सको आकार मात्र घट्ने छैन, भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चिति समेत खल्बलिनेछ ।नेपालमा कति सुन होला ? ऐतिहासिक कालदेखि सुनको प्रयोग हुँदै आए पनि सञ्चित सुनको मात्रा अनुमान गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष बताउँछन् । नेपाल राष्ट्र ब्यांकका अनुसार पछिल्लो दुई दशकमा नेपालले रु.२ खर्ब ९५ अर्बको करीब १०० टन सुन औपचारिक माध्यमबाट आयात गरेको छ ।सुन तस्करीका हजारौं खबर नेपालमा भोलीको दिनमा पनि आउनेछन।सम्पति शुद्धिकरण बारे अहिलेको सरकारले जे जस्ता कामकारवाही अगाडी बढाउन खोजरहेको छ त्यसले अझ धेरै तस्करी र विक्री वितरण हुनेछ र यसले अपराध पनि बढाउने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *