एमालेका पोस्टरबाट हराउन थाले केपी ओली
संसद्को तेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते दिउँसो केन्द्रीय कार्यालय च्यासलमा कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस मनाउनका लागि दुईवटा पोस्टर सार्वजनिक गर्यो ।
ती दुवै पोस्टरको समानता के छ भने अध्यक्ष केपी शर्मा ओली गायब भएका देखिन्छन् । सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका शक्तिशाली अध्यक्ष पोस्टरबाट हराउन थालेपछि उनका समर्थकले चासो र चिन्ता जाहेर गर्न थालेका छन् ।
एमालेले सार्वजनिक गरेका दुवै पोस्टरमा कम्युनिस्ट आन्दोलनका दिवंगत हस्तीहरूको तस्बिर छ । एउटा पोस्टरको कुनामा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ।
त्यसैगरी अर्को पोस्टरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, तुल्सीलाल अमात्य र सहाना प्रधानलाई देखाइएको छ । जहाँबाट पनि ओली गायब छन् ।
तर, त्यही पोस्टरबाट अध्यक्ष ओली बेपत्ता छन् । यसअघि गत भदौमा ललितपुरको गोदावरीमा भएको दोस्रो विधान महाधिवेशन र मंसिर अन्तिम साता भएको ११ औँ महाधिवेशनस्थल ओलीमय देखिन्थे ।
विधान महाधिवेशनस्थलमा ओलीको पूर्ण कदको कटआउट नै उभ्याइएको थियो । जहाँ अन्य नेताभन्दा ओलीलाई आदर्श मान्दै फोटो खिचाउनेको भिड हुन्थ्यो।
तर भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट ओली एकाएक आदर्श व्यक्तिबाट ‘भिलेन’मा परिणत हुन पुगेसँगै परिदृश्य फेरिएको छ।
गत फागुन २१ को चुनावमा पनि एमाले पंक्तिले देशभरका कुनै पनि चुनावमा ओलीको तस्बिर कतै देखाएनन् । एमालेबाट उठेकाहरूले पनि सकेसम्म ओलीको नाम नै नलिई मतदातालई सम्बोधन गरे।
नयाँ भोटर भड्किने चिन्तामा रहेका उम्मेदवारहरूले सकेसम्म ओली र उनीसँग सम्बन्धित कुरालाई छल्ने प्रयास गरे।


