थामेमा दुई हिमताल विस्फोट हुँदा भीषण बाढी


दुई हिमताल विस्फोट हुँदा शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गेग्य्रान र ठूला ढुंगासहितको भीषण बाढी आएको निष्कर्ष निकालिएको छ । थामेबजारबाट करिब नौ किलोमिटरमाथि रहेका दुई हिमताल विस्फोटका कारण उक्त घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएको छ ।

रक्षामन्त्री मानवीर राईसहितको एक सरकारी टोलीले शनिबार बिहान थामेबजार क्षेत्रको स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया गरेको थियो । टोलीले दुई हिमताल फुटेर बाढी आएको निष्कर्ष निकालेको हो ।

“उक्त क्षेत्रको अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा शृंखलाबद्ध प्रभाव परेको देखिन्छ,” प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्राधिकरणका अनुसार, पाँचमध्ये तीन ताल यथावत् छन् । तर, ती तालको जोखिमको अवस्थाबारे अध्ययन गर्नुपर्ने टोलीले औँल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *