बागलुङको समृद्धिका लागि उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच ऐतिहासिक समझदारी


​बागलुङ ।

बागलुङ जिल्लाको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक सुधारका लागि दुई ठूला संस्थाहरूबीच महत्वपूर्ण सम्झौता भएको छ। बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाज बीच जिल्लाको चौतर्फी विकासका लागि ८ बुँदे साझा सहमति पत्रमा हस्ताक्षर भएको हो।

​सम्झौता पत्रमा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा प्रसाद शर्मा ले हस्ताक्षर गर्नुभएको छ।

​सम्झौताका मुख्य बुँदाहरू:

​स्थानीय सम्भाव्यता अध्ययन: जिल्लाका १० वटै पालिकामा कृषि, वन, लघु उद्यम, पर्यटन र जलस्रोत लगायतका क्षेत्रमा प्रत्येक पालिकामा १० वटा परियोजनाको सम्भाव्यता अध्ययन गर्न विज्ञसहितको टोली परिचालन गरिने।

​उद्यमी प्रोत्साहन: जिल्लाका युवा, महिला र नागरिकहरूका लागि वित्तीय साक्षरता तथा उद्योग व्यापार सम्बन्धी परामर्श सेवा प्रदान गरिने।

​व्यावसायिक योजना (Business Plan): कम्तीमा १०० वटा व्यावसायिक योजनाको विस्तृत प्रतिवेदन तयार पार्न दुवै संस्थाले प्राविधिक र आर्थिक सहयोग गर्ने।

​‘बागलुङ कोसेली घर’ को स्थापना: स्थानीय उत्पादनको ब्रान्डिङ र बिक्री वितरणका लागि संघको सटरमा ‘बागलुङ कोसेली घर’ स्थापना गरिने। यसको व्यवस्थापन संघले गर्नेछ भने बजारीकरणमा समाजले सहयोग गर्नेछ।

​लगानी सम्मेलन: परियोजनाहरूको विस्तृत प्रतिवेदन तयार भएपछि स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिहरूको उपस्थितिमा लगानीकर्ताहरूको भेला आयोजना गरिने।

​विपदमा पनि सहकार्य

​विकास निर्माणका अतिरिक्त प्राकृतिक विपद् र महामारीका समयमा पनि दुवै संस्थाले आपसी समन्वयमा परोपकारी कार्यहरू गर्ने सहमति भएको छ। यस कार्यका लागि सरकारी निकाय, निजी क्षेत्र र विदेशमा रहेका विभिन्न नेपाली समाजहरूसँग समेत समन्वय गरिने बताइएको छ।

​उक्त सम्झौता कार्यक्रममा रोहवरका रूपमा अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव प्रेम सागर पौडेल र उद्योग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम र सह-कोषाध्यक्ष चन्द्रराज रेग्मीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *