विकास बैंकको अवस्था नाजुक बन्दै, खराब कर्जा २७ प्रतिशत


बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था प्रदर्शन परीक्षण गर्ने महत्त्वपूर्ण औजार हो, नन पर्फमिङ लोन (एनपीएल) अर्थात् खराब कर्जा । वित्तीय संस्थाहरूले निश्चित समयका लागि समय–समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा कर्जा प्रवाह गरेका हुन्छन् । सो कर्जा समयमा भुक्तानी भएन भने खराब कर्जामा राख्ने गरिन्छ ।

एक विकास बैंकको यस्तो खराब कर्जा २७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत पुस मसान्तसम्ममा सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको रहेको छ । यो बैंकको खराब कर्जा २७.७५ प्रतिशत पुगेको हो । यो बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ९४.५० रहेको छ ।

विकास बैंकहरुको खराब कर्जाको तथ्यांक हेर्दा आर्थिक मन्दीको असर परेको छर्लङ देखिन्छ । मन्दीकै कारण थप कर्जा विस्तार गर्न नसकेर ब्याजदर घटाइरहेका बैंकहरुले यसअघि प्रवाह गरेको कर्जा समेत उठाउन सकिरहेका छैनन् । १७ वटा विकास बैंकमध्ये १० वटाको खराब कर्जा ४ प्रतिशत भन्दा माथि छ । सरदरमा भने विकास बैंकहरुको खराब कर्जा ३.६१ प्रतिशत रहेको छ । विकास बैंकहरुमध्ये सर्वाधिक खराब कर्जाको दोस्रो नम्बरमा सप्तकोशी डेभलपमेन्ट लिमिटेड रहेको छ । यो बैंकको १४.१६ प्रतिशत कर्जाको सावाँ तथा ब्याजको भुक्तानी नियमित छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोषको मान्यता अनुसार सामान्यतया ऋणीले सावाँ तथा ब्याज भुक्तानी गर्नुपर्ने मितिबाट ९० दिन बितेको खण्डमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राख्नु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले पनि भाका नाघेको ऋण खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।५ प्रतिशत वा सो भन्दा माथि खराब कर्जा भएका वित्तीय संस्थाले लाभांश वितरण गर्न पाउनेसम्मको व्यवस्था छ । यसरी हेर्दा नारायणी, सप्तकोशीसंगै साल्पा विकास बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन् । साल्पाको पनि खराब कर्जा ६.४५ प्रतिशत पुगेको छ । विकास बैंकहरुमध्ये सबैभन्दा कम खराब कर्जा सिन्धु विकास बैंकको रहेको छ । यो बैंकको खराब कर्जा १.०५ प्रतिशत मात्र रहेको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको २.५१ प्रतिशत, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २.६२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको २.७४ प्रतिशत र गरिमा विकास बैंकको २.९५ खराब कर्जा रहेको छ ।त्यस्तै, ज्योति विकास बैंकको ४.८८ प्रतिशत खराब कर्जा हुँदा महालक्ष्मी विकास बैंकको ४.२१ प्रतिशत खराब कर्जा छ । लुम्बिनी विकास बैंकको ३.५५ प्रतिशत र कामना सेवा विकास बैंकको ३.४२ प्रतिशत खराब कर्जा रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यी पाँच बैंकहरुको पनि कर्जा लगानी व्यवस्थापन कमजोर रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *