लगानी सम्मेलनको तयारी तीव्र, घट्दो मुनाफाले चुनौती
आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ । सरकार परिवर्तनसँगै अन्यौल बनेको उक्त सम्मेलन तोकिएकै समयमा हुने पक्कापक्की भएको हो ।
डा. प्रकाशशरण महत अर्थमन्त्री रहेका बेला सम्मेलनको तयारी थालिएको थियो । सरकार परिवर्तनसँगै फेरिएका नयाँ अर्थमन्त्री वर्षमान पुनले पनि लगानी सम्मेलन तोकिएकै समयमा गर्न तयारीलाई तीव्रता दिएका छन् । अर्थमन्त्री पुनले विभिन्न निकायसँग छलफलदेखि मातहतका निकायहरुलाई निर्देशन समेत दिइरहेका छन् ।
यसैक्रममा अर्थमन्त्री पुनले गत मंगलबार लगानी सम्मेलन २०८० को निर्देशक समितिको बैठक समेत राखेका थिए । बैठकमा राष्ट्र बैंकका गभर्नर, सरकारका सचिवहरू, निजी क्षेत्रका प्रतिनिधि लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
उक्त बैठकमा अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिए । मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउनु पर्नेमा उनको जोड थियो । सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने हुँदा सोही अनुरुप क्रियाशील रहन समेत उनले आग्रह गरेका थिए ।
नेपालमा थप लगानी आकर्षण गर्ने अभिप्रायले सम्मेलन आयोजना गर्न लागिएको हो । यसअघि सरकारले दुई वटा लगानी सम्मेलन सम्पन्न गरिसकेको छ । तर, ती लगानी सम्मेलनबाट सरकारले असफलताको पाठ मात्रै सिक्यो ।
हुनपनि चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा संचालित वैदेशिक लगानीका उद्योग तथा व्यापारिक प्रतिष्ठानले रोयल्टी र लाभांश बापत बाहिर लागेको रकम साढे ३५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यहि अवधिमा यस्ता उद्योग प्रतिष्ठानले १५ अर्ब ४४ करोड रुपैयाँ लागेकोमा चालु आर्थिक वर्षको फागुनसम्ममा १० अर्ब ४ करोड रुपैयाँ मात्र लागेका छन् ।