आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम हो इन्द्रजात्रा
राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महानपर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् ।
इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण आधार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।
उनले भने ‘इन्द्र जात्राको धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ, यो जात्राको खेतीसँग पनि सम्बन्ध छ, ऐतिहासिकरुपमा भन्नुपर्दा आजैका दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय हासिल गर्नुभएको, मल्लराजाले आफ्नो शासनकाल गुमाएको दुई परिघटनाको संयोग रहेको छ ।’
राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका निम्ति पनि इन्द्रजात्रा पर्वको महत्व फराकिलो बनेको छ । मुलुकको संस्कृतिको जगेर्नाका साथै विदेशी नागरिकलाई आकर्षण गर्ने कार्यक्रमका रुपमा पनि पहिचान थपिएको छ । वसन्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका सम्पदा, विभिन्न देवीदेवताको मठमन्दिर, जात्रा, पर्व आदिले काठमाडौँको संस्कृति र सभ्यतालाई संसारभर चिनाएको छ । यसैका माध्यमबाट नेपालको पहिचान विश्वभर फैलिएको छ ।
महानगर प्रमुख महर्जनले वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा र काठमाडौँको सेतो मच्छिन्द्रनाथको जात्रा दुई सहरको महत्व र सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व भएको र यसले दुई सहरको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाएको धारणा राखे ।
उनले मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई उपत्यका र समग्र देशभरकै महत्वपूर्ण पर्व भएको पनि बताए । जात्राका क्रममा विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज सहर परिक्रमा गरेका छन् ।