पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी
पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तानसँग शान्ति वार्तामा कुनै सफलता हासिल हुन नसकेपछि पाकिस्तान सेनाले सशक्त कदम चाल्ने तयारी थालेको छ ।
मुलुकमा आतंककारी आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबानविरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
पाकिस्तानमा सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका थिए । यद्यपि उक्त युद्धविरामको आडमा तालिबानका लडाकुहरुले मुलुकका थप भूभागमा सक्रियता देखाउन थालेपछि पाकिस्तानी सेना चिढिएको बताइएको छ ।
‘सैन्य कारवाहीको तयारी कायम गर्न र प्रतिआतंकवादी अभियानका लागि खासगरी खैबर पख्तुनख्वा र बलोचिस्तानमा प्रयास जारी नै रहनुपर्छ ।’ पाकिस्तानी सेनाप्रमुख कमर जावेद बाजवालाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशति हुने डन अखबारले जनाएको छ ।
अखबारका अनुसार केही समयअघिमात्रै मुलुकको खैबर पख्तुनख्वा र बलुचिस्तानमा तालिबानका लडाकुहरुको सक्रियता देखिएको थियो ।
पाकिस्तानी सेनाले तालिबानबाट मुक्त गरेको भनिएको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका विभिन्न स्थानहरु तालिबानको कब्जामा रहेको बताइएको छ ।