बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्ट्स पसलमा आगलागी
बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्ट्स पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो ।
आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्ट्स सञ्चालन गर्दै आएका थिए ।
आगलागीको खबर पाएलगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवालीसहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको थियो ।