हनी ट्रयापिङ गर्ने मुख्य योजनाकार सहित ग्यांग नै पक्राउ
काठमाडौं उपत्यकामा युवतीको प्रयोग गरेर केही समयदेखि ‘हनी ट्रयापिङ’ गरेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट हनी ट्रयापिङ गर्ने ६ जनालाई पक्राउ गरेपछि घटना बाहिरिएको हो।
६ जनाको समूहले पत्रकार, समाजसेवीदेखि नक्कली आफन्त बनेर मानिसलाई डर त्रासमा पारेर रकम असुल्ने गरेको खुलेको छ। प्रहरीले बिहीबार निमा लामालाई पक्राउ गरेपछि घटनामा संलग्न अन्य पाँच जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।
पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दिनेश कुमार आचार्यले जानकारी दिए।
हनी ट्रायापमा पारेर मानिसबाट रकम असुल्ने गिरोहका मुख्य योजनाकार निमा लामा र पासाङ लामा भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।
कसरी हुन्थ्यो ‘हनी ट्रयापिङ’?
उनीहरूले सामाजिक सञ्जालबाट महिलालाई प्रयोग गरी विभिन्न मानिससँग सम्पर्क गरेर भेटघाट गर्ने वातावररण बनाउथे। पुरुषलाई सम्पर्क बढाएर बोलाइ रेस्टुरेन्टमा लगेर खाजा खुवाउन बोलाउँथे। सामाजिक सञ्जालबाट भएको सम्पर्कमा परेर रेस्टुरेन्टसम्म पुग्ने पुरुष उनीहरुको जालमा पर्थे। रेस्टुरेन्टमा पुगेर केही समय विताएपछि दुई जना महिलाले आफूलाई जवर्जस्ती गरेको भन्दै चिच्याउन थाल्थे। त्यसपछि योजना अनुसार नै तयारी अवस्थामा बसेका पासाङ, निमा र सञ्जीव आफन्त बनेर त्यहाँ पुग्ने गरेको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
त्यसपछि उनीहरुले आफ्नो बहिनीर भाञ्जीलाई जवर्जस्ती गरेको भन्दै हप्काउने र थर्काउने गर्थे। त्यसपछि त्यहाँ रकमको बार्गेनिङ हुन्थ्यो। आवश्यक अनुसार निकिता केसी आफू पत्रकार भएकाले समचार छाप्ने भन्दै पुग्थिन। त्यही घटनलाई डिक कुमारले समाजसेवी र वकिल भएको भन्दै थप बार्गेनिङ गर्ने गरेका थिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।