स्थानीय तह निर्वाचनमा कुन दलका कति आए जनप्रतिनिधि,तथ्यांक यस्तो छ


स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्यांकन भइरहेको छ ।

नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि स्थानीय तह निर्वाचनको प्राप्त मत परिणामले जोड घटाउको चर्चा चुलिएको हो ।

हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । उक्त दलका तर्फबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

एमालेबाट ११ हजार ८७२, नेकपा ९माओवादी केन्द्र० बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि २०७४ सालमा तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

गत वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला सदस्य र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् । एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।

कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र वडा सदस्यमा एक हजार ८०६ जना निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ जना निर्वाचित भएको आयोगले जनाएको छ ।

छ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाका वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । यस निर्वाचनमा करिब एक लाख ४५ हजार जनाको उम्मेदवारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *