मानव बेचबिखनमा देखिएका नयां चुनौती
दिपक शर्मा
अहिले हामी चौतर्फी रुपमा कोरोना भाइरसको प्रकोप र यसले फैलाएको डरको क्षेत्रफलबाट आक्रान्त भएका छौं। हाम्रो यावत् दैनिकी फेरिएको छ। पूरै विश्वको लय कोरोनाको कारण बदलिएको छ। तर,यो समय पनि पक्कै बितेर जानेनै छ तर, कोरोनाको कारणले नै समाजको मूल चरित्र भने बदलिने देखिंदैन।
नेपालको ऐतिहांसिक सन्दर्भ र्हेने हो भने यस्ता प्रकोप र प्राकृतिक बिपति पछि नेपालमा एक खालको अपराध संधै बढेर गएको पाइन्छ। यो अपराध भनेको महिला तथा बालबालिकाको बेचबिखन अपराध हो। दासप्रथाको अन्त्य,सति प्रथाको अन्त्य,राणा शासन,नेपालको सशस्त्र द्धन्द्ध,भूकम्प,नाकाबन्दीको समयपछि नेपालमा एक्कासी महिला तथा बालबालिकाको बेचबिखन अपराधमा बृद्धि भएको दस्तावेजहरुमा पढ्न पाइन्छ। कोरोनाको यो त्रासपूर्ण समयपछि पनि यो खाले अपराध बढने संभावना उत्तिकै छ।
जहिले देखि समाज अस्तित्वमा आयो त्यसै समयदेखि नै मानव बेचबिखन सम्बन्धी गतिविधि पनि भएको पाइन्छ । मानव बेचबिखनमा विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसार पसारको कार्यले विभिन्न आयाम र स्वरुपमा परिवर्तन हुँदै निरन्तरता पाइरहेको छ । वाध्यात्मक तथा बालविवाह देखि बालश्रम, धर्मपुत्र, धर्मपुत्रीका नाममा शोषण, प्रक्रिया पूरा नगरी गैरकानुनी आप्रवासन, बन्धुवा श्रम तथा दासत्व, मानव अंग प्रत्यारोपण, यौन दासत्व, व्यवसायिक यौन शोषण, सस्तो श्रम, आदि विभिन्न उद्देश्यका लागि महिला तथा बालबालिकाको बेचिबखन गरिने हुन्छ ।
चेलिबेटी बेचबिखन, उनीहरुको ओसारपसार तथा देहव्यापारद्वारा उनीहरु उपर गरिने शोषण नेपाल समाज र त्यसदेखि बाहिर पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । दर्दनाक सामाजिक विकृतिको रुपमा बढ्दै गएको चेलीबेटी बेचबिखन तथा व्यापारिक यौन शोषणका कारणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि र गरिमा उपर कालो दाग थपिँदै गएको देखिन्छ । विगतमा भारतका ठूला शहरहरुमा व्यवसायिक यौन शोषणका लागि हुँदै आएको महिला बेचबिखन पछिल्ला केही वर्षमा नेपालकै आन्तरिक बजारदेखि लिएर विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । पछिल्लो समयमा बैदेशिक रोजगारीको लागि श्रम आप्रवासनको आवरणमा महिला बेचबिखनको मिटर ह्वातै बढेको छ । आज नेपाली महिला हरेक महादेशमा पु¥याएर बेच्ने गिरोह सक्रिय भैसकेको छ । तान्जानिया, केन्या, मालवीदेखि दुबई, कतार, यूरोप अमेरिका जताततै यो रयाकेट संचालित भएको पाइन्छ ।
मानव बेचबिखन तथा ओसापसारको इतिहांस
मानव बेचबिखन तथा ओसापसारको शुरुवात चरण खोज्दै जाँदा यसको प्रारम्भिक चरण जनाउने आधिकारिक तथ्यांक र सामग्री कतै पाउन सकिँदैन । अठारौं शताब्दीको अन्त्यतिर देखि बालमजदुर बनाउने सिलसिलामा अफ्रिकाबाट एटलान्टिक महासागर पार गराएर यूरोप पु¥याइएका अफ्रिकीहरु नै मानव बेचबिखन कार्यको इतिहासका जीवन्त उदाहरणहरु मानिन्छ ।तात्कालिन समयमा यूरोपभरि यसरी काममा पु¥याइएका मध्ये राम्री र गोरी रंंगकी महिलालाई देहव्यापारमा समेत संलग्न गराइन्थ्यो । यही खालको गतिविधिलाई पछाडि ह्वाइट स्लेभरी भनेर नामाकरण गरिएको तथ्य भेटिन्छ ।
चेलिबेटी बेचबिखन तथा ओसारपसार भन्नाले कुन विषयलाई बुझाउँछ भन्ने बारेमा अध्ययन गर्दा यसको इतिहासलाई पनि सँगसँगै राखेर हेरिन्छ । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विषयलाई बुझाउने शब्द ‘ट्रयाफिकिङ’ को शाब्दीक प्रयोग सन् १९०० को प्रारम्भबाट भएको पाइन्छ । यो शब्दको तत्कालिन समयमा गोरा वर्णका दासदासीको व्यापारलाई बुझाउन भएको मानिन्छ ।
नेपालमा मानव बेचबिखन तथा ओसारप्रसार (नियन्त्रण) ऐन २०६४ को दफा ४ (क) मा लेखिए अनुसार कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने (ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने (ग) प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने र (घ) वेश्यागमन गर्ने कार्य, दफा ४ (२) क किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने (ख) वेश्यावृत्तिमा लगाउने वा शोष्ण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई, फकाई प्रलोभनमा पारी, झुकाई, जालसाजी गरी, प्रपञ्च मिलाई, जर्बजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने वा आफनो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा अरु कसैलाई दिने गतिविधिलाई मानव बेचबिखन तथा ओसारसार भनेको छ ।
मानव बेचबिखनको अपराध नेपालमा एउटा गम्भीर अपराधको रुपमा स्थापित भइसकेको अपराध हो । संख्यात्मक रुपमा हेर्ने हो भने पनि नेपालमा भइरहेका अपराधिक घटनाको तुलनामा यो सर्वाधिक संख्यामा हुने अपराध हो । भारतका सबै ठूला शहरका कोठीमा मात्र लखौं संख्यामा नेपाली महिलाहरु यो अपराध भोगिरहेका छन् । लामो समयदेखि जरा गाडेर बसेको यस अपराधबाट लाखौं लाख महिलाहरुको जीवन बर्बाद भइसकेको छ ।
भारतका विभिन्न उद्योगहरुमा बेचिने नेपाली बालबालिकाको संख्या पनि ठूलो छ । नेपालको बढ्दो जनसंख्या, शहरीकरण, बेरोजगारी तथा गरिबीका कारण यौन धन्दामा लाग्न बाध्य बनाउने जस्ता बेचबिखनका क्रियाकलापहरु समयको अन्तरालसँगै विभिन्न रुपमा बढिरहेको अवस्था विद्यमान देखिन्छ । नेपालभित्रै पनि शहरोन्मुख बजार तथा राजमार्ग केन्द्रित स्थानका साथै काठमाडौं, पोखरा बुटवल, विराटनगर, इटहरी, विर्तामोड, नेपालगञ्ज धनगढी लगयतका शहरका होटल, रेष्टुरेन्ट र घरेलु काममा लगाउने आवरणभित्र बढिरहेको बेचबिखन गतिविधिले व्यवसायिक रुप ग्रहण गर्दै गएको देखिन्छ । आप्mनै परिवारका सदस्य तथा नातेदारहरु नै मानव बेचबिखन तथा ओसारपसार कार्यमा स्थानीय दलालसँग मिल्ने गरेको देखिन्छ ।
परम्परागत अपराधमा नयाँ चुनौती
नेपालबाट महिलाहरु भारतमा मात्र बेचबिखन हुने गरेकोमा हाल यो अपराधका पीडित पुरुषहरु पनि बन्दै गएका छन् भने अर्कातर्पm बैदेशिक रोजगारीको नाममा अहिले नेपाली महिला तथा बालबालिका भारतको बाटो हुँदै अन्य राष्ट्रहरुमा पु¥याउन थालिएका छन् । यस अपराधमा पछिल्लो समय देखिएको नयाँ ट्रेन्ड के छ भने नेपाल पहिले यो अपराधको उद्गमस्थल थियो भने हाल मार्गस्थ राष्ट्र पनि बन्दै गइरहेको
छ । अहिले बंगलादेशबाट महिलाहरु नेपाल ल्याएर यहाँबाट तेश्रो राष्ट्र जस्तै दुबई, कतार, नाइजेरिया पठाउने गतिविधिमा व्यापक बृद्धि भएको पाइएको छ ।
त्यस्तैगरी विवाहका नाममा नेपाली र बंगलादेशी महिलाहरुलाई चिनियाँ, कोरियन लगायत अन्य देशका व्यक्तिसँग विवाह गरी मानव तस्करी हुने गरेको तथ्य पनि फेला परेका छन् । नेपालमा अहिले मानव बेचबिखन भित्रै मानव अंग बेचबिखनको सेटिङ पनि हुन थालेको छ ।
मानव बेचबिखनको सबैभन्दा मुख्य कारण आर्थिक अवस्था हो । देशमा बढ्दो बेरोजगारी र पारिवारिक सास्तीले मानिसहरु जीविकोपार्जनको खोजीमा भौतारिरहेका छन् । यस्तो अवस्थालाई ख्याल गरी बसेका अपराधीहरुले उनीहरुको गरिबी र बेसहाराको फाइदा उठाउँदै अपराध कार्यलाई विस्तार गरिरहेका छन् र बेरोजगार र गरिबीले थिला–थिला परेका मानिसहरु काम पाउने आशामा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्काे देशसम्म पुग्न सजिलै तयार हुने गरेका छन् ।
त्यस्तै गरेर नेपालमा मानव बेचबिखनमा राज्यका उपल्ला तहका केही सरकारी अधिकारीर राजनीतिक तहको संलग्नता रहने गरेका घटनाहरु व्यापक भइसकेका छन् । त्यस्तैगरी सामाजिक मूल्य–मान्यतामा आएको ह्रास र कानुनी उल्झनका दाउपेचले नेपालमा मानव बेचबिखनको अवस्थालाई निरन्तर बढाइरहेको छ । नेपाल जस्तो अविकसित देशका लागि मानव बेचविखन एक गम्भीर समस्या बन्दै गएको छ भने कानुनी संयन्त्रहरु यो अपराध रोक्न कमजोर बन्दै गएका छन् । आर्थिक रुपले उसै पनि कमजोर नेपालमा अहिले झनै राजनीतिक अस्थीरता बढिरहेको छ यसका साथै राजनीतिक अपराधिकरणका कारणले पनि मानव बेचविखनका सन्दर्भमा प्रभाव पारि रहेको छ ।
नेपालको राजनीतिक परिदृश्यमा पनि थुप्रै मानव तस्करहरु समाहित भएका छन् जसका कारणले तिनको प्रभाव र पहुँचले कानुन कार्यान्वयनमा निकै जटिलता पैदा गरेको छ साथै नेपालको विद्यमान कानुन पनि सशक्त र सवल छैन जसका कारण त्यसको प्रभाव निकै कमजोर रुपमा प्रतिबिम्बित भएको छ । नेपालमा मानव बेचविखनको अवस्था कस्तो छ भन्ने कुरा त स्वयं सरकारले पनि बुझेको छ तर यो गम्भीर मानवीय विषयलाई सम्बोधन गर्ने सवालमा उ निकै कमजोर बन्दै गएको छ ।
सरकारी प्रतिवेदन अनुसार पनि नेपालका दुई दर्जन भन्दा ज्यादा जिल्ला मानव बेचविखनका दृष्टिले उच्च जोखिममा रहेको देखाएको छ ।नेपालले हाल भएको मानव बेचबिखन ऐनमा रहेका त्रुटि र कम्जोरीलाई हटाएर यसमा समसामयिक सुधार गर्नुपर्दछ। यसका साथै सरकारले हाललाई भएको कानूनको कार्यन्वयनमा विशेष ध्यान दिनु जरुरी छ र यस अपराधको रोकथाम सम्बन्धमा निगरानी र सक्रियतालाई बढाउदै लग्नुपर्छ।