गैरआवसायी नेपाली संघ अध्यक्षमा कुल आचार्यको उम्मेदवारी


गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली संघको नेतृत्वमा उम्मेदवारी दिएका छन् । सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका हुन ।

उनले सन् २०२१-२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । संघ दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

“नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु”, आचार्यले भने ।

सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए । “विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, सङ्घले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु”, उनले भने।

नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ । अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *