भौतिक परीक्षाको विकल्प खोज्न माग गर्दै विद्यार्थीहरुको प्रदर्शन


भौतिक परीक्षाको वैकल्पिक व्यवस्था हुनुपर्ने मागसहित विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेका छन्। कोभिड-१९ को तेस्रो लहरमा त्रिभुवन विश्वविद्यालयले गरिरहेको भौतिक परीक्षाको वैकल्पिक व्यवस्था हुनुपर्ने मागसहित विद्यार्थीहरुले आज विश्वविद्यालयमा प्रदर्शन गरेका हुन्।

कोभिडको जोखिमकै बीच एउटै सेन्टरमा हजारौँ र एउटै क्लासमा सयौँ विद्यार्थी राखेर परीक्षा गरिरहेको भन्दै विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाको माग समेत गरेका छन्।

‘हामी सयौँको संख्यामा एकै ठाउँ बसेर परीक्षा दिइरहेका छौँ, घरघरमा कोभिड लगिरहेका छौँ भन्ने महसुस भएको छ। कतिपय साथीहरु परीक्षा केन्द्रमा बसेपछि बिरामी भएका छन्, कोभिड लाग्नेले पनि परीक्षा सँगै बसेर दिनुको विकल्प छैन’, समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थी कुमार बर्तौलाले भने, ‘हामीले भौतिक उपस्थितिको परीक्षा रोकेर वैकल्पिक व्यवस्थाको माग गरेका हौँ, तर टीयूले हाम्रो स्वास्थ्य र जीवन जोखिममा पारेको छ।’

उनले टीयूको यस्तो असंवेदनशीलताको प्रतिवाद गर्न नछाड्ने बताए। कोभिडको जोखिममा भौतिक परीक्षा गरेको भन्दै टीयूको आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *