कोरोना कहर : रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फिर्ता


कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

१ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन ।केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स ९यूएई० बाट फर्किएका छन् । दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ । यूएईबाट १ लाख ४० हजार २१६ र कतारबाट १ लाख ५ हजार ७७४ जना फर्किएका हुन् । मलेसियाबाट ४८ हजार ४३५, साउदी अरबबाट ४१ हजार ६६८, कुवेतबाट २३ हजार ३४१, भारतबाट ३६ हजार १९५, टर्कीबाट १३ हजार ६३४, जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

सिंगापुरबाट ५ हजार ५०३, ओमनबाट ५ हजार ३७६ र दक्षिण कोरियाबाट ३ हजार ५६२, चीनबाट ३ हजार ५५८, हङकङ र मकाउबाट ३ हजार १६४ जना छन् । बंगलादेशबाट २ हजार ५९५, बहराइनबाट १ हजार ३५५, अस्ट्रेलियाबाट १ हजार २४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड–१९ को असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् ।

भारतबाट विभिन्न नाका हुँदै करीब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन । कोभिडयता नियमित अवस्थामा कति कामदार फर्किए भन्ने यकिन तथ्यांक छैन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राख्ने पहल थाले पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन ।

वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा कोरोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो । भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४६० पुगेको छ । खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८७२ जना कार्यरत रहेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *