मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धुमधामका साथ शुरु भएको छ ।
यस पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने गर्छन् अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाइने छ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानून हालेको) खानेकुरा खाने चलन छ ।