स्वास्थ्यका मापदण्ड अपनाएर सेतो मच्छिन्द्रनाथको रथयात्रा


काठमाडौं । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छिन्द्रनाथको पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसी देवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

तीनधारा पाठशाला अघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण शुरु हुन्छ ।
अष्‍टमीका दिन बिहान सेतो मच्छिन्द्रनाथको खट मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगी राखिन्छ । राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा शुरु हुने समितिको संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *