जगदुल्ला जलविद्युतका लागि सडक निर्माण प्रक्रिया शुरु
जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट-डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।
झण्डै रु ३८ करोड १० लाखको लागत अनुमानअनुसार काम शुरु गर्न लागिएको प्रदेशसभा सदस्य शाहीले बताउनुभयो । त्रिवेणी, नर्कु सर्मी हुँदै जुम्ला जोड्ने मुख्य सडकका रूपमा रहेको यो सडकको निर्माण कार्यको शुरुआतसँगै नयाँ ढोका खुलेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकासँगै छिमेकी जिल्ला जुम्लासँग सडक जोड्ने मद्दत पुग्ने शाहीको भनाइ छ । अघिल्लो वर्ष बोलपत्र आह्वान गरेर रद्द भएपछि दुःखी भएका यहाँका स्थानीयवासी फेरि कामको प्रक्रिया शुरु भएसँगै खुशी भएका छन् । यो सडक खण्डमा अब बाँकी ११ किलोमिटर काम तत्काल शुरु गर्न लागिएको हो ।
त्यस्तै यही सडकखण्डको जाजरकोट, रुकुम पश्चिम आठबीसकोट नगरपालिका र डोल्पाको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माणका लागि बोलपत्र भएर काम शुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत् कम्पनीले सो ठेक्का खोलेको थियो । त्यस्तै काइगाउँ, जगदुल्ला गाउँपालिका–४ को बालुवाकुना र जगदुल्ला गाउँपालिका–२ जोड्ने पक्की पुलको निर्माणका लागि डिपिआर ९विस्तृत आयोजना प्रतिवेदन०को काम शुरु भई निकट भविष्यमा पुल निर्माणको काम शुरु गरिने छ । डोल्पाको दुनैसम्म सडक निर्माण भएर यातायातका साधन सञ्चालनमा आए पनि तल्लो डोल्पाकै दुई स्थानीय तहभित्र सडक निर्माण नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन । जगदुल्लाको काइगाउँमा बाँध र मुड्केचुलाको इलमा विद्युत् उत्पादन गृह निर्माण हुन लागेको र अर्को नयाँ जलविद्युत् आयोजनाका लागि प्रक्रिया शुरु भएसँगै सडक निर्माण तत्काल गर्न दबाब परेको हो ।
आयोजनाको निर्माण लागत घट्यो
आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत रु १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । रु २२ अर्बबाट लागत रकम घटेर रु १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।
कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।
करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।रासस