प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अंग : संघीय मामिला मन्त्री
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अंग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उनले संघीय नीति, ऐन, कानुनअन्तर्गत नै प्रदेश र स्थानीय तहका नीति, ऐन, कानुन निर्माण हुने भएकाले सोहीअनुसार काम गर्नुपर्नेमा कुनै भ्रम नराख्न आग्रह गरे ।
समृद्ध नेपाल निर्माणका लागि काम गर्न निर्देशन दिँदै कानुनी पालनामा ध्यान दिन उनले आग्रह गरे ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले निजामती प्रशासन सञ्चालनका लागि कर्मचारीहरुमा ज्ञानको अभाव नरहे पनि त्यसको प्रयोगका सन्दर्भमा देखिएका खाडललाई चिरेर जनताको सेवामा समर्पित हुन आग्रह गरे ।रासस