सौगात र गरिमाको ‘जन्ते बाख्रो’ जेठ २३ देखि रिलिज हुने

नायक सौगात मल्ल, आसिफ शाह र नायिका गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो वर्षको जेठको २३ गतेबाट रिलिज गर्ने जानकारी निर्माणपक्षले दिएको छ । अहिलेसम्म, यो मितिमा अन्य फिल्मका निर्माताले प्रदर्शन मिति तय गरेका छैनन् ।
तर, प्रदर्शन मिति घोषणा गर्ने हतारोमा यसको निर्माणपक्षले निकै कमजोर पोस्टर सार्वजनिक गरेको छ । उसो छ, पछिल्लो समय केही फिल्मका निर्माताले प्रदर्शन मिति तय गर्ने हतारोमा फिल्मको कमजोर पोस्टर सार्वजनिक गर्न थालेको देखिन्छ । यो सूचीमा ‘जन्ते बाख्रो’ पनि परेको छ ।
हिमालको काखमा सेटअप गरिएको पोस्टरमा नायिका गरिमा शर्मा र कलाकार आसिफ शाहलाई रोमान्टिक रुपमा देखाउँदै गर्दा सौगात भने निराश मुद्रामा देखिएका छन् । यस्तै, उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहारी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय छ ।
मुइन इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मलाई सामाजिक कमेडी कथामा निर्माण गरिएको छ । हरि हुमागाँइको डीओपी , उत्तम हुमागाँइको सिनेमाटोग्राफी, सुनिल शिवभक्तीको सम्पादन फिल्ममा छ ।