प्रकाश सपूतले सेयर गरेनन् ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर,किन?


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर धेरैले मन पराए । धेरैपछि चलचित्रको टिरजको चौतर्फी तारिफ भएको हो । बुवाको मुख हेर्ने दिन यही टिजर फेसबुकमा सेयर गर्दै धेरैले बुवालाई शुभकामना दिए ।

कारण बुवाले छोरोको पढाईका लागि गरेको संघर्ष र सम्झौता टिजरमा देखाइएको छ । टिजरको छोटो संवाद र समावेश गीतको अंशले दर्शकको ध्यान खिच्यो । गन्दर्व गीतको भावनात्मक पक्षले दर्शकको मन जित्यो । यही पक्षले धेरैलाई लोभ्यायो । त्यसैले चलचित्रकर्मी मात्रै होइन दर्शकले पनि टिजर सेयर गर्दा धेरैको फेसबुकको वालमा टिजर देखियो । चलचित्र नै प्रतिक्षित बन्यो ।

तर, अचम्मको पक्ष भने टिजरमा प्रशस्त समय अकुपाई गरेका सिनेमाका मुख्य कलाकारमध्येका एक प्रकाश सपुतले यो सिनेमाको पोस्टर, टिजर आफ्नो फेसबुकमा सेयर गरेनन् ।

जबकी उनी फेसबुकमा सक्रिय छन् । अन्य पोस्ट सेयर गरिरहेका छन् । गीतको भिडियो सेयर गरेका छन् । आफ्नै लेखन तथा निर्देशन रहेको चलचित्र ‘वसन्त’को पोस्टर सेयर गरेका छन् ।

‘वसन्त’को छायांकन सुरु भएको तस्बिर राखेका छन् । आफू ब्रान्ड एम्बेस्डर रहेको प्रोडक्डका पोस्टहरू सेयर गरेका छन् ।

जबकी कात्तिक १५ गते ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदैछ । त्यसको पाँच महिनापछि चैत २२ गते ‘वसन्त’ रिलिज हुनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले पोस्टप्रोडक्सनमा छ । ‘वसन्त’को भर्खर छायांकन सुरु भएको छ ।

रिलिजको हिसावले अगाडि रहेको र प्रचारको काम सुरु गरिसक्नुपर्ने चलचित्रलाई चाहिँ किन प्रकाशले बेवास्था गरिरहेका छन् भन्ने प्रश्न यतिबेला धेरैको जिज्ञासा छ ।

स्रोतका अनुसार प्रकाश ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा ‘वसन्त’ पहिला रिलिज होस् भन्ने पक्षमा थिए । आफ्नो निर्देशन तथा निर्माण रहेको चलचित्र रिलिज भएपछि मात्रै ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज होस् भन्ने उनको चाहना थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्ष यसका लागि तयार पनि थियो । सुरुमा तयारी पनि त्यही नै थियो । तर वितरकले निर्माणपक्षलाई कात्तिकमै चलचित्र रिलिज गर्न दबाब दिएको स्रोत बताउँछ । वितरकलाई निर्माणपक्षले नाईं भन्न सकेन । त्यसैले यो चलचित्र अगाडि आयो । रिलिजका हिसावले ‘वसन्त’ पछाडि पर्यो ।

सामान्यतया अगाडि पोस्टको काम सकिएको चलचित्र अगाडि आउनु स्वभाविक पनि हो । कागजी सम्झौता नै यो पछि मात्रै यो चलचित्र आउँछ भन्ने छ भने बेग्लै कुरा हो । यस्तो सम्झौता भएको छ भने ‘पूर्ण बहादुरको सारङ्गी’को टिम नै गलत छ । होइन भने पोस्टको काम समेत सकिन लागेको चलचित्र फ्लोरमा भर्खर गएको सिनेमालाई पर्खिनुपर्छ भन्ने तर्क बलियो होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *