पत्रकार ऋषि धमला पुनःफिल्ममा देखिने


विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा देखिने भएका हुन् । उनी निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘भाइरल गोर्खे’मा अनुबन्ध भएका हुन् । 

धमला र निर्माण पक्षबीच बिहीबार लिखित सम्झौता भएको हो । उनी यस फिल्मको शीर्षमध्ये एक भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ ।

यो धमलाको अभिनय रहने दोस्रो फिल्म हो । यसअघि उनले फिल्म ‘हाउ फन्नी’मा अभिनय गरेका थिए । श्रीमती एलिजा गौतम नायिका रहेको फिल्म ‘अनुराग’ निर्माणपछि उनको यो पहिलो फिल्म हो । 

यो फिल्म कमेडी जनरामा बन्ने बताइएको छ । निर्माण पक्षकाअनुसार ‘सामाजिक सञ्जालमा भाइरल बन्न जे सुकै गर्न पछि नहट्ने व्यक्ति’को कथामा फिल्म बन्न लागेको यसअघि नै जनाएको छ ।

लम्जुङमा मंगलबारदेखि फिल्मको छायांकन जारी छ । निर्देशक श्रेष्ठले  ‘छड्के २’मा निर्देशन गरेका थिए । 

एक महिनामा फिल्मको छायांकन सकाउने निर्माण पक्षको योजना छ । गोरखा र चितवनमा पनि छायांकन गर्ने बताइएको छ । 

फिल्ममा नायक सौगात मल्ल, नायिका सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *