सहकारी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सहकारी बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।
शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो ।सहकारीका पीडित बचतकर्ताले काठमाडौंमा यही चैत १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगबाट प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । पीडितले शान्तिपूर्ण प्रदर्शन, सुन्धारामा भएको र्याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।