निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयको विवादमा कांग्रेस महासमिति सदस्यहरु
नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ।
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन्। महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचनअघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त भएका हुन्।महासमिति बैठक स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गठबन्धनको सम्बन्धमा निर्णय गर्ने बेला नभएको बताए। उनले आगामी निर्वाचनमा विरोधीहरु एकै ठाउँमा उभिएमा कांग्रेसले विरोधीहरुलाई फुटाउन गठबन्धन गर्नुपर्ने हुनसक्ने भन्दै तत्कालीन अवस्थामा भर पर्ने बताए।
उनले निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने बताए। उनले भने, ‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ। एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो। तर लड्नुपर्दाखेरी कांग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनीहरुलाई फुटाउनका लागि कांग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ। अहिलेदेखि नै गठबन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन। र भोलि गठबन्धन गर्नुपर्ने आवश्यकता, विरोधीहरु एक ठाउँमा उभिएर कमजोर पार्न खोजेभने त्यो बेलामा नयाँ रणनीतिका साथ अगाडी बढ्ने कुरा हो। कहिले कहिलेको चुनाव छ अहिले गठबन्धन गर्ने नगर्ने भनेर निर्णय गरेर हिँड्ने होइन।’
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रामहरी खतिवडाले अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमको बाजा भएको भनि धेरै महासमिति सदस्यहरुले टिप्पणी गरेको बताए। उनले देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र देशमा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको जानकारी दिए।
उनले भने, ‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन। बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ। त्यो सँगसँगै आर्थिक नीतिहरु राम्रो भएन। नेपालको अर्थतन्त्र कन्तुरमा थन्क्याएर जनता भोकै मर्ने अर्थतन्त्र चाहिएको छैन। जनताको बीचमा पुग्नुपर्यो। अर्थतन्त्र चलायमान हुनुपर्यो। यो नीति कांग्रेसले लिनुपर्यो। युवालाई रोजगारी दिने, नेपालमा लगानीको वातावरण कसरी सिर्जना गर्ने यो विषयमा विस्तृत रुपमा छलफल भइरहेको छ। सरकारको काम कारबाहीमा सन्तुष्ट छैनन्। मन्त्रीहरु आफ्नो स्वार्थमा केन्द्रित भए भन्ने आयो। सरकारले नयाँ काम गरेको अनुभुति हुनुपर्यो भन्ने छ।’
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताए। उनले पार्टी विधान अनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको बताउनु भयो। महासमिति बैठकमा उपस्थितहरुलाई ४ समूहमा विभाजन गरी महासमिति सदस्यहरुलाई आफ्नो कुरा राख्न दिइएको छ।
उनले भने, ‘आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको ठूलो संख्यामा मत राखेका छन्। पार्टी विधानतः चलेको छैन भन्ने कुरालाई त्यत्तिकै प्राथमिकताका साथ राख्नुभएको छ। केन्द्रीय तहका नेताहरु पनि वडामै गएर निर्वाचन लडेर फेरि केन्द्रिय सदस्य लड्ने पूर्वाधार तयार गर्नुपर्छ भनिएको छ। स्वच्छ छलफल भएको छ।’