‘ऋण तिर्दिन भन्दै हिँड्नेहरूलाई कसैले पनि साथ नदिनु’


नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले ऋण तिर्दिन भन्दै हिँड्नेहरूलाई कसैले पनि साथ दिनु नहुने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेकाे ‘बैंकिंग क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक बहस कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

उनले भनिन्. “समग्र अर्थतन्त्रको बारेमा अध्ययन गरेर सकारात्मक सन्देश दिनु पर्छ  । वित्तीय क्षेत्रको पनि अध्ययन गरेर सकारात्मक कुरा बाहिर आउनु पर्छ । ऋण लिएपछि तिर्नु पर्छ भन्ने सोच राख्नु पर्छ । र, यसमा सबैले साथ दिनु पर्छ । तर, ऋण तिर्दिन भन्दै हिँड्नेहरूलाई कसैले पनि साथ दिनु हुँदैन ।“

हाल तरलताको अवस्था मजबुत रहेको बताउँदै उनले बैंकहरुमा बढेको निष्क्रिय कर्जा भने चुनौतीको रुपमा रहेको उनले बताइन् । तर, छिमेकी मुलुकको तुलनामा यो अझै कम नै रहेको उनले तर्क गरिन् ।

नेपालमा वित्तीय पहुँच बढेको, डिजिटल कारोबार बढेको जस्ता कुरालाई उनले राष्ट्र बैंकले गरेको सकारात्मक कामको परिणामको रुपमा प्रस्तुत गरिन् । उनले भनिन्, “यो राष्ट्र बैंकको नीतिका कारण नै भएको हो।“

बजारको माग घट्दा बैंकमा कर्जा लगानी घटेको उनको तर्क छ । मौद्रिक नीतिको समीक्षाले कर्जा विस्तारमा वृद्धि हुने देखिएको उनले बताइन् । ब्याजदर घटिरहेको हुँदा अब कर्जा लगानी बढ्ने उनले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *