केहि संचालकको बदमासीले सबै सहकारी समस्यामा आयो
सहकारी संचालकको केन्द्रिय नेतृत्व नै संचालकका बदमासीबाट आजित भइसकेको देखिएको छ । काठमाडौंमा आइतबार आयोजित एक बहस कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको भनाइमा यस्तो आशय झल्किएको हो ।
हालै महासंघको नेतृत्व सम्हालेकी मल्लले भनिन्, “अचल सम्पत्तिमा लगानी गरेर सञ्चालकहरूले बदमासी गर्दा समग्र सहकारीले समस्या भोग्नु परेको छ ।“ उनले नेपालमा आधा भन्दा धेरै सहकारीले बचत तथा ऋणको काम गर्ने गरेको र त्यस्तो काम गर्दा संचालकले नै बदमासी गर्ने गरेको बताइन् ।
बचत तथा ऋणको काम गर्ने सहकारी नै अहिले समस्यामा परेको उनले बताइन् । सहकारी पनि वित्तीय कारोबार गर्ने अंग भए पनि त्यसको ऋण उठ्न नसक्नुमा नीतिगत सुविधा कार्यान्वयनमा नआउनु दोषी रहेको उनले बताइन् । उनले भनिन्, “हामिले अहिले खोजेको भनेको कर्जा सूचना केन्द्रको कारबाही कार्यान्वयन आउनु पर्छ भन्ने हो । यो कार्यान्वयन नहुँदा सहकारीको ऋण उठ्न सकेको छैन ।“
उनले सहकारीलाई पनि अनुगमन गर्ने छुट्टै निकाय चाहिने बताइन् । यसबारे आफुहरुले अर्थमन्त्रीसँग समेत माग राखेको उनले बताइन् ।