चलचित्र ‘मेयर’ को मुहुर्त, दीपेन्द्र के खनालको निर्देशन
चलचित्र ‘मेयर’को शुभमुहूर्त गरिएको छ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने हुनेछन् ।
“केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको व्यक्तिले कठिन परिस्थिति, घात–प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा यो सिनेमाको कथा केन्द्रित रहनेछ,” निर्देशक खनालले भने । चलचित्र ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको हो ।
चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
‘मेयर’ कृष्णबहादुर थापाले खिच्नेछन् । चलचित्रमा जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ ।
चलचित्रमा शीर्ष भूमिकामा खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहनेछ ।