पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा,नियम पालना गर्न अनुरोध
पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । कोषले बालाचतुर्दशीका अवसरमा दीप प्रज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
आफ्ना दिवंगत पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढंगले कार्य सम्पन्न गर्नेसम्मको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”
कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ ।
मदिराजन्य पदार्थ बिक्री–वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका निम्ति विशेष सुरक्षा टोली परिचालन गर्नुका साथै ठाउँठाउँमा सीसी क्यामेरा जोड्ने काम गरिएको कोषका सदस्यसचिव खत्रीले बताए ।
यस्तै, बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ ।