जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउन जनतामाझ जानुपर्ने बताए ।
“देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ”, डा. कोइरालाले भने । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए । “केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको संगठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ”, कोइरालाले भने । यहाँका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी संगठन कमजोर हुँदै गएको उनको भनाइ थियो ।