मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ देखि
‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसिर २३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको ११औं संस्कारण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।
महोत्सवको उद्घाटन चलचित्रको रूपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ ।
विश्वभरीबाट खुला आवेदनमार्फत संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्यान्ड, किर्जिस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा नन्फिक्सन र नेपाली सर्ट फिक्सन तथा नन्फिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।