मुक्तिनाथ कृषि कम्पनीको आईपीओ विक्रीमा आउने
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले दशैको बीचमै पहिलो चरणको आईपीओ विक्री खुला गर्दैछ । कात्तिक ११ गते पूर्णिमाको दिनसम्म बडा दशै मनाउने गरिन्छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० गतेदेखि आईपीओ विक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणतर्फको शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूले यो आईपीओ खरीद गर्न सक्नेछन् ।
सर्वसाधारणमा कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ विक्री गर्न स्वीकृति पाएको हो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा कुल कित्ता शेयरमध्ये १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि विक्री गर्न लागिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
कम्पनीले आफ्नो उदेश्य अनुसार कृषि कृषक तथा कृषि व्यवसायिहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको छ । हाल कम्पनीमा संस्थापक तर्फ ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । गत आर्थिक वर्ष ०७९÷८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ८३ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।