एनआरएनएको सम्पूर्ण चुनावी प्रक्रिया स्थगित
गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गरेका हुन् ।
निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने बताएका थिए । उनीहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएका थिए ।उनीहरुले विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको आरोप लगाएका छन् ।