किन जलाइयो सनी देओलको फिल्म ‘गदर २’को पोस्टर ?
पञ्जाबको गुरदासपुरका सांसद समेत रहेका अभिनेता सनी देओल आगामी फिल्म ‘गदर २’को प्रमोशनमा व्यस्त छन्।
केही दिनअघि सनी देओल अमृतसरको श्री दरबार साहिब गएका थिए। उनी अटारी बोर्डरमा आफ्नो फिल्मको प्रमोशनमा पनि देखिएका थिए। तर, गुरदासपुर नजिक जाँदा पनि उनी त्यहाँ नपुगेपछि नागरिकहरू आफ्ना सांसदसँग आक्रोशित भएका छन्।
मंगलबार गुरदासपुरमा सनी देओलको विरोधमा प्रदर्शन भएको थियो। केही व्यक्तिले सनी देओलको फिल्म ‘गदर २’ को पोस्टर जलाएर फिल्म बहिष्कार गर्न अपिल गरेका छन्। अमरजोत सिंह र अमृतपालले सनी देओलको असफलता भएको बताएका छन्। अमृतपालले सनी देओललाई जनताले विश्वास गरेको र उनले जनतालाई धोकामा राखेर गुरदासपुर नगएको बताए।
अमरजीत लगायत धेरै युवाहरूले सनी देओलको विरुद्ध नारा लगाए र शहरमा ‘गदर २’ बहिष्कारको आह्वान गर्दै पोस्टर टाँसे।
आन्दोलनकारीले केन्द्रसँग कुनै सेलिब्रेटी राजनीतिमा प्रवेश गरे र आफ्नो क्षेत्रमा समय दिन नसक्ने भए उसको सदस्यता खारेज गरिन माग गरेका छन्। सामाजिक सञ्जालमा पनि सनी देओलको विरोध भइरहेको छ।