कान्ति बाल अस्पतालले पीडितलाई ३० लाख क्षतिपूर्ति दिनुपर्ने
उपचारका लागि आएका बालकलाई गलत खोप दिएको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । पीडितलाई कान्ति बाल अस्पतालले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।
अस्पतालका तर्फबाट चिकित्सकीय लापारबाही भएको ठहर गर्दै सर्वोच्चले पीडितलाई क्षतिपूर्तिस्वरुप सो रकम दिनुपर्ने आदेश दिएको हो ।न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । २०७९ माघ २५ गते भएको फैसलाको पूर्णपाठ भने तीनदिन अघि मात्रै आएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
यस्तो थियो घटना
श्वासप्रश्वासमा समस्या आएपछि २०७३ असार २२ गते आठ महिने बालकलाई अस्पतालले तेस्रो पटक खोप दिएपश्चात जटिल समस्या देखिएको थियो ।
आफ्ना छोरालाई दिनुपर्ने खोप नभइ अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’ को खोप दिइएको धुव्रकुमार विश्वकर्माले बताएका छन् । गलत खोपले अवस्था जटिल भएको भन्दै ०७३ भदौमा छानबिनका लागि अस्पतालमा निवेदन दिएका थिए । ०७४ वैशाखदेखि बालकको अवस्था सुधार हुन नसक्नेगरी अपांगता भएपछि भने विक कानुनी प्रक्रियामा गएका थिए ।
सुरुआतमा जिल्ला स्वास्थ्य कार्यालय हुँदै जिल्ला र पाटन उच्च अदालतसम्म मुद्दा पुगेको थियो । पाटन उच्च अदालतले १५ लाख रुपैयाँ क्षतिपूर्ति भराइ गरेकोमा फैसलाप्रति असन्तुष्टि जनाउँदै विक सर्वोच्चसम्म पुगेका थिए । उच्चबाट २०७६ जेठ १० मा भएको फैसला केही उल्टो भइ पीडित पक्षलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन सर्वोच्चले आदेश दिएको हो ।