अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन
सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूलाई रकम नभई रोजगारी दिनुपर्ने डा. कोइरालाले उल्लेख गरेका छन् ।“विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,” उनले फेसबुकमा लेखेका छन्, “माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ । उनीहरूलाई पैसा होइन, रोजगारी दिऊँ ।”