नेपाल प्रति ओलीको कटाक्ष,राष्ट्रपति खाउ भन्दा कांग्रेसलाई सोध्न जान्छु भने


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गर्दा पनि नमानेको बताएका छन्। स्थानीय तह कर्मचारी संघको भेलालाई सम्बोधन गर्दै ओलीले आफूले राष्ट्रपतिका लागि प्रस्ताव गर्दा नेपालले कांग्रेससँग सल्लाह गर्ने भनेको बताए। ‘राष्ट्रपति खाउ भन्दा कांग्रेसलाई सोधेर आउँछु खा भन्छ कि भनेर भने, कांग्रेसले नखा रामचन्द्र पौडेललाई चाहिन्छ भन्यो,’ ओलीले भने।

उनले ड्राइभर बनाउन खोज्दा पनि झुण्डिएर यात्रा गर्न राजी भएको भन्दै नेपालप्रति आक्रोश व्यक्त गरे।‘ड्राइभरकोमा बसेर हाँक्न चित्त नबुझ्ने, त्यहाँ पछाडिको सिटमा हात उठाएर रोक न रोक न मलाइ पनि चढाउन, होइन भने खाँबो समाएर पनि उभिन्छु भनेर त्यसरी जानुपर्ने,’ ओलीको भनाइ छ।

८ दलको बैठकमा नायिका एलिजा गौतम पनि सहभागी भएको भन्दै ८ दलको स्थिति देखिएको उनको भनाइ थियो।‘८ दल अब बलियो भएर आएको छ पहिलाको जस्तो होइन। एक जना हिरोइनको उपस्थितिमा बैठक बस्यो। अब देशले गरी खाला कि देशले गरी नखाए पनि उहाँहरुले गरिखानुहोला कि?,’ ओलीले भने।

एकीकृत समाजवादीले एमाले पहिलो पार्टी हुन्छ कि भन्ने चिन्ताले कांग्रेसलाई साथ दिइरहेको ओलीको आरोप छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो पार्टी नेपाली कांग्रेसमा मिसाइसकेको ओलीको टिप्पणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *