लोकतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारीमा रहने राष्ट्रपति विवादरहित हुनुपर्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारीमा रहने राष्ट्रपति विवादरहित हुनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलीय गठबन्धनको आयोजनामा कोसी प्रदेशस्तरीय अभिमुखीकरणका कार्यक्रममा शर्माले राष्ट्रपति विवादरहित हुनुपर्ने बताएका हुन् ।
“सेरेमोनियल भनिएको पदमा यति धेरै दौडधुप गरिएको भन्ने प्रश्न पनि उठेका छन् । तर यसअघिका कार्यकालको पृष्ठभूमिसमेत खोज्नुपर्छ,” शर्माले भने ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गणतन्त्रको रक्षार्थ गठबन्धन अघि बढेको बताए । “शान्ति प्रक्रियाको पूर्णताका लागि पनि रामचन्द्र पौडेललाई अघि सारेर हामी एक ठाउँमा उभिएका हौँ,” महराले भने ।
उनले लोकतन्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि षडयन्त्र भइरहेको दाबी गरे ।आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उमेदवार बनाएको छ । नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ छन् ।कोसी प्रदेशमा गठबन्धनमा सहभागी आठ दलमध्ये नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन् ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ ।