समुन्द्र भट्टको निर्देशनमा फिल्म ‘गुलाबी’ बन्ने
समुन्द्र भट्टको निर्देशनमा निर्माण घोषणा भएको फिल्म ‘गुलाबी’को कास्कीमा शुभ साइत गरिएको छ । शुक्रवार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता बराह आयर–भयर मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो । क्यामेरा र स्कृप्ट पूजा कार्यक्रममा निर्माण टिम र उपलब्ध कलाकारहरूको उपस्थिति थियो ।फिल्ममा नाजिर हुसेन मुख्य अभिनेता छन् । यसैसाता नाजिरले सेट ज्वाइन गर्ने र फिल्मको औपचारिक छायांकन शुरु हुने निर्देशक भट्टले बताइन् । फिल्मलाई धम्पुस, पोखरा र काठमाडौंमा छायांकन गरिनेछ । भदौ अन्तिम साताबाट फ्लोरमा जाने पुर्वनिर्धारित तालिका अनुसार निर्माण टिम छायांकनको लागि निस्केको हो । दशैं अगावै छायांकन सक्ने निर्माण टिमको लक्ष्य छ ।
फिल्ममा नाजिरसँगै सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ मुख्य अभिनयमा रहनेछन् । यसअघि निर्माण टिमले नाजिरको मात्रै नाम सार्वजनिक गरेको थियो । निर्देशक भट्टकै कथामा बन्न लागेको फिल्मले पारालैङ्गिकताको कथा बोल्नेछ । फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनको छ ।