आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बन्चरेडाँडामा व्यवस्थापन : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बन्चरेडाँडामा पुग्ने बताएका छन् । शनिबार फोहोर बोकेका १५२ गाडी धादिङको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल्ड साइटमा पुगेको जानकारी दिँदै उनले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिने बताएका हुन् ।
बन्चरेडाँडामा अज्ञात समूहले फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठाइएको थिएन । माग पूरा नभएको भन्दै स्थानीयले समेत फोहोर विसर्जनमा अवरोध गरेर पटक–पटक आन्दोलन गर्दै आएका छन् ।उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् । “हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बन्चरेमा दोहोर्याउने छैनौँ,” उनले फेसबुकमा लेखेका छन्, “थुप्रिएका फोहोरहरूको व्यवस्थापन नभई अन्य विकल्पहरूमा जानु व्यावहारिक रूपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइरहेका हौँ ।”