‘परदेशी २’,अब दसैंमा होइन फागुन ५ गते हुनेछ रिलिज


नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को प्रदर्शन मिति सरेको छ। दशैंको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको यो फिल्म अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माता राजेश वंशलले जानकारी दिए।

उनले वितरक, हल संचालक र चलचित्रकर्मीहरुसँगको सल्लाहमा ‘परदेशी २’लाई फागुनमा ल्याउने निर्णय गरिएको बताए। आफूहरुले प्रदर्शन मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भीडभाड भएकाले पछि सर्ने निर्णय गरिएको वंशलको भनाई छ।

‘परदेशी २’ ले प्रदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि मिति सारिएको हो। ‘एकले अर्को चलचित्रलाई असर नगरोस् भनेर हामी पछि सर्ने निर्णयमा पुगेका हौं,’ निर्माण टिमले जनाएको छ।

दशैं तिहारमा धेरै चलचित्र हुँदा प्रचारप्रसारमा पनि असर पर्नसक्ने बताउँदै पछि सार्दा प्रचारप्रसार पनि सशक्त तरिकाले गर्न सकिने र धेरै दर्शकसम्म पुर्‍याउन सकिने निर्देशक रायमाझी बताउँछन्।

‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *