बलिउड निर्देशक,जसको परिवार नेपालीसंगै भुटानबाट लखेटियो


अक्सर सिनेमालाई ब्याख्या गर्दा हामीहरु भन्छौं सिनेमा समाजको दर्पण हो । तर कहिलेकाही समाजलाई त्यो दर्पणमा हेर भनेर भन्दिनु पर्ने हुन्छ। किनकी अधिकाश मानिस खोट सिसामा मात्र देख्छन् । तर कहिलेकाही,समस्या समाजभित्र हुन्छ। हो त्यो समस्यालाई आमरूपमा बहसमा ल्याउने काम सिनेमाले गर्दछ र यस्तो दुस्साहस कमै निर्देशकले गर्ने गर्दछ्न। समाज जहाँको होस् त्यसमा एक खालको जडता हुन्छ ।
त्यसले एउटा यस्तो काइदा कानुन बनाउछ जसलाई सबैले पालना गर्दिनै पर्छ ।
तर त्यसो भनेर सबै चुपचाप कहाँ बस्छन्! कोही हुन्छन् जो भन्छन् यो त सामाजिक समस्या पो हो यसलाई दबाइ राख्न मिल्दैन, अनि शुरु हुन्छ भन्ने कथा । बलिउडमा यसरी बार बार समाजलाइ ऐना देखाउने निर्देशक पनि छन् । यसैमध्यका एक निर्देशक बारेको हो यो लेख।
बङाली परिवारमा जन्मिएका अनिबर धरको जन्मस्थल चाहिँ भुटान हो। अनिबर धरका पिता स्कुलका प्रिनसिपल थिए ।उनी जुन स्कुलमा थिए त्यहाँ धेरै नेपालीहरु अध्य्यन गर्थे । यसैले भुटान सरकारले यिनलाई पनि देशबाट लखेटेको थियो। पितासंगै अनिबरले पनि देश छोड्नु परेयो। शरणार्थी बन्नेको पीडा नजिकबाट देखेका अनिबर धरको फिल्म प्रतिको रुचि बच्चै देखि शुरु भएको थियो।
यिनै अनिबर आज आएर बलिउडका चर्चित सिने निर्देशक ओनिर बने। जाधवपुर विश्व बिधालयबाट तुलनात्मक साहित्यमा स्नातक गरेका ओनिरले केही समय चित्रबानी फिल्म स्कुलमा पनि पढेका थिए, तर त्यहाको अध्ययन पूरा नहुदै उनले फिल्म सम्पादन सम्बन्धी छात्रवृत्ति पाए र पढ्नलाई जर्मनी गए। ओनिरले बनाएको पहिलो डकुमेन्ट्री फलन् हिरो थियो।
मुलधारका सिनेमा भन्दा अलि फरक सिनेमा हेर्न लालायित हुने यिनको बानीले पछि यिनी पृथक सिनेमा भनिने आर्ट हाउस सिनेमामा छिरे।
चर्चित निर्देशक कल्पना लाजमीको फिल्म दमनमा यिनले मुख्य निर्देशकको जिम्मेवारी समालेका थिए । पहिलो फिल्ममा नै एड्स र यसका बिरामीहरुले भोग्नु पर्ने तिरस्कार र उपेक्षाको बिषय उठाएका ओनिरले त्यसयता महत्वपूर्ण र कसैले नउठाउने गरेका बिषय माथी सिनेमा बनाउने गरेका छन् ।
माइ ब्रदर निखिल होस् वा बस एक पल अनि आइ एम सबै सिनेमा उस्तै छन् । बलिउडमा एड्स र सेम सेक्स र तिनको सम्बन्धका बारेमा सिनेमा बनाउने पहिलो निर्देशक यिनै ओनिर हुन। आफ्नो सिनेमा आइ एमका लागि ओनिरले राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका छन् ।

सत्य घटनामा आधारित सिनेमा बनाउन सक्षम रहेका यी निर्देशकले एक अन्तरबार्तामा आफू कोरा कल्पनाका बिषयमा कम्जोर रहेको बताएका छन् । श्याम बेनेगलको फिल्म जुनुनले आफुभित्र फिल्म बनाउने जुनुन पैदा गरिदिएको यिनी मान्छ्न।

डकुमेन्ट्रीमा पनि रुचि राख्ने ओनिरले इन्डो-अस्ट्रेलियन लगानीमा बनाएको डाउन सिन्ड्रोम नामक डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय स्वतन्त्र डकुमेन्ट्री पुरस्कार जितेको थियोे । आफुलाइ रितिक घटक,सत्यजित रे,लुइस बनिल,एण्ड्री तार्कोस्भीका फ्यान मान्छन।ओनिर कि बहिनी इरेनी धर पनि चर्चित फिल्म तथा टिभी सम्पादक छिन । बिश्वमा अलग धारका फिल्ममेकरले सामना गर्ने अनेक बाधा ब्याबधन जस्तै ओनिरले पनि भोगेका छन् ।
भारत जस्तो सामाजिक र धार्मिक कट्टर भएको देशमा सेम सेक्स बारेको सिनेमा बनाउने कुरा चानचुन हुँदैन ।आइ एम नामक यिनको सिनेमा भारतका कतिपय शहरमा प्रतिबन्ध गरिएको थियो। यो सिनेमामा लगानी गर्न कोहि तयार नभएपछि यिनले फेसबुक र ट्विटरमा आव्हान गरि पैसा जम्मा गरेका थिए ।चारवटा फरक फरक कथा जोडेर बनाएको यो फिल्मलाई धेरै समिक्षकले बेजोड भनि तारिफ गरेका छन्। रामगोपाल बर्माको फिल्म भुतका प्रोमो डिजाइनर यी निर्देशकले संगीतकार प्रीतम लाई बलिउडमा भित्राएका हुन।

दिपक शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *