आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। सोमवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनायो।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती र कर्णालीका एक दुई स्थानमा भने भारी वर्षाको अनुमान गरिएको छ। ‘देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाको मौसम बुलेटिनमा भनिएको छ, ‘वाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।’
राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। ‘प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,’ मौसम बुलेटिनमा भनिएको छ।