दुई दिनदेखिको भीषण वर्षाले बागलुङको गलकोट क्षेत्रमा पहिरो


दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा पहिरो गएको छ। भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको छ भने ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म संचालन गर्न नमिल्ने अवस्थामा पुगेका छन्।

गलकोट नगरपालिका-१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्‍याएको हो। वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए। गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन्। स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पुर्‍याएको छ। ‘साविक वडा नं ३ का अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्’, उनले भने, ‘गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ।’

बाढी पस्दा खेतमा भर्खर लगाएको धानबाली पनि नष्ट भएको छ। जोखिम न्यूनीकरण गर्ने र विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन नगरबाट पहल भइरहेको जनाइएको छ। पहिराका कारण गए रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिए।

वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात संचालनमा अवरोध खडा गरेको थियो। बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन बाटैमा अलपत्र परेका थिए। यात्रुले सास्ती खेप्नुपरेको थियो। लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरा पन्छाएपछि यातायात सेवा संचालन भएको हो।

गलकोट-१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घरहरू जोखिममा छन्। नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ। बाढीले स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानसमेत पुरिएको छ। वर्षा भइरहँदा स्थानीयवासीले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भण्डारीले बताए।

‘नरेठाँटी बजार नै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घर जोखिममा परेका छन्, जसमध्ये उच्च जोखिममा रहेको दुई घरपरिवारलाई सुरक्षित स्थानमा सारेका छौँ, अन्य ४३ घर जोखिममा छ’ भण्डारीले भने ‘अन्य जोखिममा रहेका घरपारिवारलाई पनि सार्नुपर्ने देखिन्छ।’ रातभर स्थानीयवासीको प्रयास र उपकरण प्रयोग गरी बाढी तर्काउने प्रयास गरिएको थियो। अहिले बजारनै डुवानमा पर्ने खतरा रहेको वडाध्यक्ष भण्डारी बताए।

यस्तै, वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पुर्‍याएको छ। नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो। बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन्। पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *