स्थानीय तहको निर्वाचनमा आफू पहिलो पार्टी बनेको कांग्रेसको निष्कर्ष


नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ ।

कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो ।

प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक प्रदीप पौडेलले ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा कांग्रेसले जित निकाल्दा ४४ प्रतिशतमा विजय दर्ता गराएको बताए ।वडाध्यक्षमा पाएको मतलाई पार्टीले पाएको मतका रूपमा प्रस्तुत गरेको कांग्रेसले गठबन्धबाटभन्दा एकल चुनाव लडेको स्थानमा बढी जितेको दाबी गरेको छ ।

प्रतिवेदनमा निर्वाचन सम्पन्न भएका कुल ७५२ स्थानीय तहमा कांग्रेसले ३२९ जितेको, ६ हजार ७३३ वडामध्ये दुईहजार ६६५ अर्थात् ३९ प्रतिशत वडा, दुईहजार ६०६ महिला सदस्य, दुईहजार ५५१ दलित महिला सदस्य, पाँचहजार ३०७ खुला सदस्य गरी कुल १३ हजार ४५८ जनप्रतिनिधि जितेको उल्लेख छ ।
प्रतिवेदनले कांग्रेसले गठबन्धनबाट भन्दा एक्लै चुनाव लडेर धेरै जितेको उल्लेख छ । गठबन्धनका कारण ६३२ स्थानीय तहमा मात्र प्रमुखको उम्मेदवारी दिन पाएको कांग्रेसले गठबन्ध गरेका स्थानमा जम्मा १२८ स्थानीय तह जितेको छ ।

गठबन्धन नगरेका स्थानमा २०१ स्थानीय तह कांग्रेसले जितेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखमा गठबन्धनबाट जम्मा ८५ जितेकोमा एक्लै चुनाव लडेका स्थानबाट २१५ स्थानमा जित निकालेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।
उपसमितिले भातृसंस्था तथा शुभेच्छुक संस्थाको प्रभावकारी परिचालन गर्नुपर्ने , निर्वाचनको माहोल पार्टीका पक्षमा पार्न लागि निश्चित कामको सुहाउँदो जिम्मेवारी छुट्टाई सक्रिय बनाउनुपर्ने सुझाव पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *