किशोरीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने


आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज जिल्ला अदालतबाट थप ७ दिनको म्याद पाएको हो।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो। जबरजस्ती करणी मुद्दामा हदम्याद लाग्ने भएपछि प्रहरीले मानव बेचविखन मुद्दामा टेकेर अदालतबाट म्याद थप गरेको थियो।

दोस्रो पटक म्याद थपिएको छ। हामीले घटनालाई पुष्टी गर्ने गरी प्रमाण संकलन गर्ने काम गरिरहेका छौँ, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *