वागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन कांग्रेसको यस्तो ह्वीप,अटेर गरे स्वत: निष्काशित
नेपाली कांग्रेसले वागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता गर्न ह्वीप जारी गरेको छ। तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत: निष्काशित हुने चेतावनीसमेत कांग्रेसले दिएको छ।
२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयमा उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले वागी उम्मेदवारलाई विधानको डण्डा देखाउँदै सचेत गराएको छ। तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ,विज्ञप्तिमा चेतावनी दिइएको छ।