निर्वाचन पर्यवेक्षणमा रहेका जटिलता फुकाउँदै आयोग
निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका आधारमा निर्वाचन आयोगले यसपटक मतदाता भएको स्थानीय तहमा ती व्यक्तिलााई पर्यवेक्षण गर्न नदिने नियम बनाउँदा कतिपय पर्यवेक्षणकर्तालाई मतदानको अधिकार रोज्ने कि पर्यवेक्षणको व्यावसायिक काम गर्ने भन्ने दोधार पर्न गएको छ ।
निर्वाचन आयोगका पदाधिकारी, उच्चाधिकारी र अनुमति प्राप्त पर्यवेक्षणकर्ताबीच अहिले यो विषयमा परामर्श चलिरहेको छ । यही वैशाख ३० गते ७५३ स्थानीय तहमा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन निर्वाचन आयोगले विगतमा झैँ पर्यवेक्षणको प्रबन्ध गरेको छ ।
पर्यवेक्षकले आफ्नो मतदाता भएको वडा र मतदान केन्द्रमा पनि पर्यवेक्षण गर्दा प्रतिकूल प्रभावसमेत परेको अनुभवका आधारमा यसपटक आयोगले पर्यवेक्षकको मतदाता रहेको पालिकाभर पर्यवेक्षण गर्न नपाउने गरी व्यवस्था ल्याएको छ ।