बारको नेतृत्व चयनका लागि मतदान सम्पन्न
नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ।
नेपाल बार एशोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ। काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ। शनिबार बिहान ८०० बजेदेखि सुरु भएको अपराह्न ४०० बजेसम्म मतदानको समय तोकिएको थियो। सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन्। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन्।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा छ। उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यक्तिगत रूपमा र समूहगत रूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधित्व नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्।
कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारी प्रतिस्पर्धामा छिन्। व्यक्तिगत रूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन्। संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजु श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्।
काठमाडौँ केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार बुथको व्यवस्था गरिएको थियो। काठमाडौँ केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बुका मतदाताले मतदान गरेका छन्।