स्थानीय तहको निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने
स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो ।
अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताए ।अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उनको भनाइ छ । ‘विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ । त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं,’ सहायक प्रवक्ता अर्यालले भने ।
त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको बताए ।